डिजिटल युगमा कृषकको साथी : गुर्भाकोट कृषि चौतारी !!

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दो अनिश्चितताले किसानहरूलाई गम्भीर चुनौतीको सामना गर्न बाध्य बनाएको छ। अनियमित वर्षा, लामो खडेरी, असिना, बाढी–पहिरो जस्ता प्राकृतिक विपद्ले खेती प्रणालीमा ठूलो असर पुर्‍याइरहेका छन्। साथै, रोग–किरा र नयाँ कीराफट्यांग्राको तीव्र प्रकोपले उत्पादनमा थप जोखिम थपेको छ। यसले गर्दा किसानहरूले समयमै खेती गर्ने, उत्पादन सुरक्षित राख्ने र नियमित आम्दानी सुनिश्चित गर्ने कार्य कठिन बन्दै गएको छ। यिनै समस्याहरूलाई सम्बोधन गर्ने उद्देश्यले गुर्भाकोट नगरपालिकाले ली–बर्ड, PIN WHH को सहकार्यमा सञ्चालित "प्रारम्भ परियोजना" अन्तर्गत गुर्भाकोट कृषि चौतारी नामक डिजिटल प्लेटफर्म (ह्वाट्सएप ग्रुप) २०२४ जुलाई १३ मा सुरु गरेको हो।

हाल यस चौतारीमा किसान, स्थानीय नेतृत्व, कृषि प्राविधिकलगायत २२४ भन्दा बढी सदस्य संलग्न छन्। उल्लेखनीय कुरा के छ भने, यसमा राष्ट्रियस्तरका १० जना कृषि विज्ञहरू (जस्तै बाली रोग विशेषज्ञ, बाली प्रजनक, कृषि–मौसम सल्लाहकार आदि) समेत सक्रिय सहभागिता जनाइरहेका छन्। यसले यस प्लेटफर्मलाई साधारण सूचना आदान–प्रदानको सीमितताभन्दा पर गई, व्यावसायिक ज्ञान र अनुभव आदान–प्रदान गर्ने प्रभावकारी केन्द्रको रूपमा स्थापित गरेको छ 

 यस समूहको मुख्य उद्देश्य किसान र समुदायलाई आवश्यक कृषि–सम्बन्धी जानकारी सरल र छिटो ढंगले उपलब्ध गराउनु हो। विशेषगरी मौसम पूर्वानुमान, विपद् तयारी, अग्रिम चेतावनी प्रणाली, आधुनिक कृषि प्रविधि तथा खेतीपातीसम्बन्धी ज्ञानलाई किसानसम्म पहुँच गराउनु यस प्लेटफर्मको प्रमुख लक्ष्य हो। यसमार्फत कृषक र विज्ञबीच दुई–तर्फी संवाद प्रवाह भई समस्या समाधानमा सजिलो भएको छ।

यस चौतारीमा हरेक दिनको मौसम पूर्वानुमान, वर्षा मापन तथ्यांक, कृषि–मौसम सल्लाह बुलेटिन उपलब्ध हुन्छ। साथै, किसानहरूले रोग, किरा वा पोषण कमी जस्ता समस्या राखेमा विज्ञहरूले प्रत्यक्ष प्रतिक्रिया दिई समाधान उपलब्ध गराउने सुविधा पनि छ। यसरी, यो डिजिटल प्लेटफर्म किसानलाई केवल जानकारी दिने मात्र नभई व्यवहारिक मार्गदर्शन गर्ने भरपर्दो माध्यमको रूपमा स्थापित भएको छ 

पहिले एउटै समस्या किसान–किसानलाई अलग–अलग बुझाउनुपर्ने हुन्थ्यो। अब गुर्भाकोट कृषि चौतारी मा किसानले ह्वाट्सएपमै प्रश्न राख्छन्, हामी तुरुन्तै समाधान दिन्छौं, र सबै किसान लाभान्वित हुन्छन्। – नवराज थापा, कृषि शाखा प्रमुख

गुर्भाकोट नगरपालिकाका कृषि शाखा प्रमुख नवराज थापा अनुसार:

पहिले किसानहरू बोटबिरुवा बोकेर नगरपालिका आउनुहुन्थ्यो वा समस्या देखिएका तस्बिर पठाउनुहुन्थ्यो। हामीलाई एउटै समस्या विभिन्न किसानका लागि व्यक्तिगत रूपमा पटक–पटक समाधान गर्नुपर्ने अवस्था थियो, जसले समय र स्रोत दुवै खर्चिन्थ्यो। तर, गुर्भाकोट कृषि चौतारी सञ्चालन भएपछि किसानले ह्वाट्सएपमै आफ्ना समस्या राख्न सक्छन्, हामी तुरुन्तै समाधान पठाउँछौं, र त्यो समाधानले अन्य किसानलाई पनि सजिलै सहयोग पुर्‍याउँछ।

यस समूहमार्फत किसानले दैनिक मौसम पूर्वानुमान र कृषि–मौसम सल्लाह प्राप्त गर्दा बाली रोप्ने, काट्ने र व्यवस्थापन गर्ने निर्णय समयमै लिन सकेका छन्। यसले सम्भावित हानी–नोक्सानी कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। हाम्रो दृष्टिमा, यो समूह किसानस्तरमा कृषि–मौसम सल्लाह पुर्‍याउने अत्यन्तै प्रभावकारी डिजिटल माध्यम बनेको छ।

गुर्भाकोट कृषि चौतारी सुरु भएदेखि किसानहरूले खेतबारीमै बसेर बालीका रोग–किरा, पोषण कमी लगायतका समस्याको समाधान सहजै पाउने गरेका छन्। पहिले जस्तो नगरपालिकासम्म धाउनुपर्ने बाध्यता हटिसकेको छ। साथै, वर्षा तथ्यांक र मौसम पूर्वानुमानले विपद् व्यवस्थापन तथा कृषि सम्बन्धी निर्णय–निर्माणमा ठोस आधार प्रदान गरेको छ। यसरी, गुर्भाकोट कृषि चौतारी किसानलाई केवल जानकारीमूलक मात्र नभई व्यवहारिक रूपमा सशक्त र सक्रिय बनाउने प्रभावकारी डिजिटल प्लेटफर्मको रूपमा स्थापित भएको छ।

Click Here


Post a Comment

0 Comments